देश

जेन–जीको नाममा उच्छृंखल गतिविधि बढ्दा सिंहदरबारमा सुरक्षा कडाइ

काठमाडौं । केही दिनयता ‘जेन–जी’ नाम प्रयोग गरेर विभिन्न समूहले हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार तथा आन्तरिक क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ।

विभिन्न माग राख्दै सिंहदरबार प्रवेश गर्ने समूहहरूले प्रधानमन्त्रीसमक्ष अमर्यादित ढंगले प्रस्तुत हुन थालेपछि शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रशासनले निगरानी कडा बनाएको हो।

ज्ञापनपत्र बुझाउने नाममा हो–हल्ला गर्ने समूह बढेपछि यस्ता व्यक्तिहरूलाई दक्षिण गेटबाटै प्रवेश नदिने रणनीति अपनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्। त्यस्तै, प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरीको अतिरिक्त सतर्कता बढाइएको छ।

जेन–जीको नाममा विभिन्न स्वार्थ समूह सक्रिय भई जेन–जीको बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो अवस्थामा पारिरहेको भन्दै अनियन्त्रित समूहलाई प्रवेश निषेध गर्ने निर्देशन दिइएको स्रोतले जनाएको छ। हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका व्यक्तिलाई गेटमै रोकेपछि उनीहरूले मागपत्र बाहिरै टाँसेर फर्किएका थिए। भित्र प्रवेश गर्न सफल भएको अर्को समूहले प्रधानमन्त्री कार्यालयको प्रतीक्षा कक्षमै हुलहुज्जत गरेको थियो। सुधन गुरुङ पनि मागपत्र लिएर त्यहाँ पुगेका थिए।

आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको अर्को समूहलाई प्रहरीले गेटबाटै हटाउँदै अनामनगरको पुलसम्म पुर्‍याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *