काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा समूहबीच मङ्सिर ११ गते औपचारिक एकता घोषणा हुने भएको छ।
एकता घोषणा कार्यक्रम काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने जनाइएको छ। यसअघि एकता घोषणा मङ्सिर १० गते तय गरिएको थियो, तर नेता तथा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्न कार्यक्रम एक दिन पछि सारिएको जसपाका नेता दुर्गा सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार एकता घोषणासभा दिउँसो १ बजे सुरु हुनेछ। तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको थियो।
एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। उल्लेखनीय छ कि आइतबार अशोक राई नेतृत्वको जसपाबाट राजेन्द्र श्रेष्ठसहित ६ नेताहरू नेपाली कम्युनिस्ट पार्टीतिर प्रवेश गरेका थिए।
यस एकताको मार्फत दुई पार्टीबीच राजनीतिक सहकार्य थप बलियो हुने र आगामी निर्वाचन तथा अन्य राजनीतिक प्रक्रियामा साझा रणनीति निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।




