काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई कठोर रूपमा आलोचना गर्दै बहिष्कारको आह्वान गरेको छ। संगठनले सरकारले पछिल्ला दिनमा लिएको निर्णयहरू गैरजिम्मेवार, अपारदर्शी र जनअपेक्षाविपरीत भएको दाबी गरेको हो।
मुभमेन्टले सरकारभित्र व्यापक भ्रष्टाचार, पक्षपात र कुशासन मौलाएको आरोप लगाउँदै केही मन्त्रीहरूसमेत गम्भीर प्रश्नचिन्हमुनि परेको जनाएको छ। सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै मुभमेन्टले देशभरका नागरिकलाई सरकारविरुद्ध अवज्ञा र बहिष्कार अभियानमा सहभागी हुन आग्रह गरेको छ।
मुभमेन्टका अनुसार विद्यमान अवस्थाले देशको शासन प्रणालीलाई नै अविश्वसनीय बनाइरहेको छ, जसले नागरिकको विश्वास खस्किएको छ। यसै कारण उनीहरूले सरकार परिवर्तन नै एकमात्र विकल्प भएको दाबी गरेका छन्।




