राजनीति

यस्ता छन् लुम्बिनी मन्त्रिपरिषद् बैठकका विभिन्न सात निर्णय

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेको छ ।

बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेस गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेलगायत सात निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालका अनुसार सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी प्रदेश सरकारले बाधा अड्काउ फुकुवा गर्दै निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्म उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने निर्णय गरिएको छ ।

उक्त मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न अनुमति दिने निर्णय भएको छ ।

यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्री ढकालले जानकारी दिए ।

यसैगरी भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने र शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *