काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा पुनःसंरचना नभएसम्म देश विश्वसँग प्रभावकारी रूपमा जोडिन नसक्ने बताएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीको बृहत् एकता घोषणा सभामा उनले विश्वसँग कदम मिलाउन ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोर दिए।
देश अझै सहज मार्गमा नहिँडेको उल्लेख गर्दै भट्टराईले सहज राजनीतिक वातावरण बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए। व्यक्तिको निजत्व र सामाजिक पक्ष दुबै समेटेर नवगठित पार्टी अघि बढ्नुपर्ने उनको टिप्पणी थियो। उनले पार्टीमा आफू अभिभावकको भूमिकामा रहने र कार्यकारी नेतृत्वलाई सहयोग–सुझाव दिइरहनेप्रतिबद्धता जनाए।
कार्यक्रममा पूर्वमन्त्री राम कार्कीले चुनाव होस् वा नहोस्, नवगठित पार्टीको अभियान निरन्तर चलिरहने बताए। शिक्षा, यातायात, कृषि लगायतका नीतिहरूमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले विचार–शक्तिले म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई आग्रह गरे। मार्क्सवादी हुन आलोचनात्मक क्षमताको धनी हुनुपर्ने पनि उनले बताए।
त्यसैगरी, पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने, भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने र बोली–व्यवहारमा एकरूपता कायम गर्नेजस्ता विषय समेटिएको जानकारी दिए।
पूर्वमन्त्री सुदन किरातीले आफ्नो दलले “कम्युनिष्ट पार्टीको खोल होइन, गुदी बोकेर आएको” दाबी गर्दै देशका सबै वर्ग–समुदायको प्रतिनिधित्व नयाँ दलमा पाइने बताए।
कार्यक्रमको अध्यक्षता गरेका नेता सन्तोष परियारले नयाँ गति र कार्यशैलीमा काम गर्न चाहने सबैलाई समेटेर अघि बढ्ने बताए।




