काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। तर उनले पार्टी सदस्यता भने छोडेका छैनन्।
विष्टले भने, “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएकाले जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ।”
राजीनामा दिनुअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक डाकेका थिए। बैठकका सहभागीले राजीनामा नदिन दबाब दिए पनि धेरै सोचविचारपछि राजीनामा दिने निर्णयलाई नै उचित ठानेको उनले बताए।
पार्टीको प्रचलनअनुसार उनले राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्।
विष्ट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाको तर्फबाट उम्मेदवार पनि बनेका थिए।




