देश

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरूलाई अवसर दिने बताएका छन् ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिए । पार्टी कमिटीहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उनको भनाई छ । उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिबद्धता पनि जनाए ।

वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने सङ्कल्प र सपना देख्नुपर्ने उनको भनाई छ ।

उनले भने ‘अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसुस गरिरहेको छु । अब तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईँहरूलाई सुम्पिने सङ्कल्प, सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ । अब हाम्रो सपना तपाईँहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक, सङ्गठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ ।

आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने सङ्कल्प गर्ने अवस्था हो । आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ । नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु । म तपाईँहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले युवा पुस्ताका माग र आफूहरूको मागमा धेरै समानता देखिएको बताए । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढङ्गले नेपाल निर्माण गर्ने नयाँ सङ्कल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *