देश

राजधानीमा एमालेको प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानी काठमाडौँमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ। काठमाडौँ केन्द्रित जनसभालाई लक्षित गरी भृकुटीमण्डप तथा आसपासका क्षेत्रमा एमालेका नेता–कार्यकर्ताहरूको ठूलो उपस्थितिसहित प्रदर्शन भएको हो।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार संविधान र लोकतन्त्रको पक्षमा आयोजित जनसभा, एमालेको देशव्यापी जनपरिचालन अभियानको अन्तिम चरणका रूपमा गरिएको हो।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजना गरिएको र्‍याली प्रदर्शनीमार्गबाट सुरु भई रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा आमसभामा परिणत हुने कार्यतालिका छ। सभामा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

एमालेले यसअघि कात्तिक २२ गते देशभरका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्‍याली, तथा कात्तिक २९ गते सबै जिल्लामा जनसभा सम्पन्न गरेको थियो।

सवारी साधन डाइभर्जन

एमालेको आजको र्‍यालीका कारण सो क्षेत्रमा ट्राफिक चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। र्‍यालीका कारण प्रदर्शनीमार्ग आसपासमा सवारी आवागमन प्रभावित भएपछि वैकल्पिक मार्ग अपनाइएको हो।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीलाई पद्मोदय मोड र राष्ट्रिय सभागृह मोडतर्फ डाइभर्जन गरिएको छ। उनले भने, “र्‍यालीका कारण आवागमनमा समस्या भएकाले सवारी साधनलाई वैकल्पिक मार्गमा पठाइएको छ।”

यस्तै, टुँडिखेल आसपास भएर चल्ने सवारीसाधनको आवागमन पनि केही प्रभावित हुन सक्ने भएकाले सहज यात्राका लागि वैकल्पिक सडक प्रयोग गर्न चालक र सर्वसाधारणलाई अनुरोध गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *