काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीले भोगेका पछिल्ला घटनाक्रमका बारेमा गम्भीर समीक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
भट्टराईले मधेशमा पार्टीको जनआधार कमजोर हुँदै गएको र सार्वजनिक छविमा समेत प्रश्न उठेको भन्दै नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले फेसबुकमार्फत पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दै बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताबीच झडप, प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्त हुनु र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा पर्नुजस्ता घटनाले पार्टीलाई ठूलो धक्का पुगेको उल्लेख गरेका छन्।
भट्टराईले पार्टीको आन्तरिक एकता सुदृढ पार्न, मधेशमा जनआधार विस्तार गर्न र सामाजिक छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।




