अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप–३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ । उहाँले क्यानबेराले कूटनीतिक विवादलाई अनावश्यक रूपमा चर्किन नदिई ‘अगाडि बढ्न सकिने’ सम्भावनासमेत सङ्केत गर्नुभएको छ । यो विवादले ब्राजिलमा जारी यो वर्षको कोप–३० वार्तालाई ओझेलमा पारिरहेको छ ।
ब्राजिलमा रहेका कूटनीतिज्ञहरूले अस्ट्रेलिया र टर्की दुवैबाट आएका प्रतिद्वन्द्वी आयोजना प्रस्तावहरू समाधान गर्न केही दिन मात्र पाएका छन् । संयुक्त राष्ट्रसङ्घको प्रणाली अनुसार सहमतिपत्र नजुटे दुवै देश स्वतः प्रतिस्पर्धाबाट बाहिरिनेछन् र सम्मेलन पूर्वनिर्धारित रूपमा जर्मनीको बोन सहरमा सारिनुपर्ने बाध्यता आउनेछ । यसलाई धेरै देशले असहज विकल्प मानिरहेका छन् ।
मङ्गलबार साँझ प्रधानमन्त्री अल्बानिजले पहिलोपटक सम्भावित ‘पछाडि हट्ने’ सङ्केत गर्दै भन्नुभयो, “यदि अस्ट्रेलिया छनोट भएन भने र यदि टर्कीले आयोजना पायो भने हामी यसलाई भिटो गर्ने प्रयास गर्दैनौँ ।” उहाँका अनुसार त्यसका लागि कुनै औपचारिक मतदान प्रक्रिया थिएन र विजेता केवल सर्वसम्मतिले मात्र निर्धारण हुने संयुक्त राष्ट्रसङ्घको नियम रहेको बताउनुभयो ।
अल्बानिजले भन्नुभयो, “यदि सहमति जुटेन र दुई उम्मेदवार नै टसमस रहिरहे भने सम्मेलन स्वाभाविक रूपले बोनमै जान्छ । प्रशान्त क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि चिन्ता व्यक्त भइरहेको छ कि यस्तो विवादले विश्वलाई जलवायु कार्यमा आवश्यक एकताको सकारात्मक सङ्केत दिन सक्दैन ।”
अस्ट्रेलियाले उष्णकटिबन्धीय चक्रवात र बढ्दो समुद्री सतहको जोखिममा रहेका प्रशान्त टापुका छिमेकीहरूसँग मिलेर कोप–३१ को आयोजना अधिकारका लागि प्रतिस्पर्धा गरिरहेको छ । तर अनुमान अनुसार सम्मेलन आयोजना खर्च तीन अर्ब डलरसम्म पुग्न सक्छ भन्ने विश्लेषणले केही पक्षहरूलाई सतर्क बनाएकाले अस्ट्रेलियाभित्रै सरकार विभाजित देखिन्छ ।
प्रधानमन्त्री अल्बानिजले विश्व जलवायु एजेन्डामा प्रशान्त टापु राष्ट्रहरूको आवाज बलियो बनाउन अस्ट्रेलियाले अन्य वैकल्पिक मार्गहरू अपनाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रशान्तलाई फाइदा हुने उपायहरू, जस्तै प्रशान्त क्षेत्रीय नेताहरूको छुट्टै उच्चस्तरीय बैठकजस्ता विकल्पहरू पनि खोजिरहेका छौँ ।”
प्रधानमन्त्रीको टिप्पणीपछि अस्ट्रेलियाली सरकारका प्रवक्ताले देशसँग अझै पनि सम्भावित आयोजकका रूपमा ‘उच्च समर्थन’ रहेको पुनः पुष्टि गरे । प्रवक्ताले भने, “हामी प्रशान्त क्षेत्र र अस्ट्रेलियाको राष्ट्रीय हितलाई केन्द्रमा राख्दै टर्कीसँग जिम्मेवार संवाद जारी राख्नेछौँ ।”
यसअघि जलवायु मन्त्री क्रिस बोवेनले अस्ट्रेलिया अझै पनि टर्कीको प्रतिस्पर्धालाई पराजित गर्न ‘कडा प्रयास’ जारी रहेको बताउनुभएको थियो । ब्राजिलमा एएफपीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो कसरी अघि बढ्छ, हामीले हेर्नै बाँकी छ । तर हामी जित्नका लागि पूर्ण रूपमा तयार छौँ ।”
अस्ट्रेलियाले टर्कीले प्रस्ताव गरेको ‘अध्यक्षता पद साझा गर्ने’ विकल्पलाई अस्वीकार गरिसकेको छ । यी जटिल कर्तव्यहरू दुई टाढै रहेका देशबीच बाँडेर सम्भव नहुने अडान क्यानबेराले स्पष्ट जनाएको छ ।




