देश

देशभरका शिव मन्दिरमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो

काठमाडौँ। पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने परम्परा छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले बिहीबारदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजामा सहभागिता जनाएका थिए।

आफ्ना दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालुहरूले श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर जस्ता स्थलमा शतबीज छरेका थिए। बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन भक्तजनले पशुपतिनाथ मन्दिर वरिपरि महादीप बाली, भजनकीर्तन र लोक झाँकी प्रस्तुत गर्दै रात बिताएका थिए।

शतबीज छर्ने परम्परा अनुसार, हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने चलन छ। मृगस्थलीमा रहेका बहिरा गणेशको शिलामा बीज हाल्दा दिवंगत आत्माको लागि सन्देश पुर्याउने विश्वास छ। धार्मिक विश्वासअनुसार एक गेडा बीज छरेर भगवान् शिव मृगरूपमा विहार गर्नुले एक गेडा सुन दान गरेबराबर पुण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने मान्यता छ।

पुराण अनुसार, वाग्मती किनारको मृगस्थलीमा पार्वतीले भगवान् शिवलाई चिन्न विभिन्न किसिमको बीज छरेको कथा रहेको छ। बीज उम्लिएर हरिया भएपछि मृग आएर भगवान् शिवलाई चिन्ने भनाइ छ।

बालाचतुर्दशीसँग जोडिएको अर्को कथा अनुसार, पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामक व्यक्तिले खाजा खाने क्रममा पोलिएको शवको टाउको फुटेर गिदीसँगै खाँदा मीठो भएको र त्यसपछि गिदी खाने प्रचलन सुरु भएको बताइन्छ। त्यसपछि स्थानीय बासिन्दाले वृषसिंहमार्फत बालासुरलाई मार्न लगाएका थिए। भगवान् शिवको दर्शनपछि शतबीज छर्ने आज्ञा पाएकाले आजसम्म यस दिन बालाचतुर्दशी पर्व मनाइँदै आएको धर्मशास्त्रविदहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *