काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेश सरकारले ‘तुइनमुक्त कर्णाली’ अभियानलाई अगाडि बढाउँदै पाँच स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ।
मुख्यमन्त्री यामलाल कँडेलद्वारा घोषणा गरिएको अभियानअनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठ २६ गते सूचना जारी गर्दै प्रदेशभरि रहेका तुइनको विवरण मागेको थियो। सोही अनुसार असार १० गतेभित्र नदी–खोलाको नाम, स्थान, जिल्ला, दूरी तथा तुइनबाट दैनिक लाभान्वित हुने जनसंख्या समेटिएको विवरण मन्त्रालयमा पठाइएको थियो।
मन्त्रालयमा प्राप्त अभिलेखअनुसार १० वटै जिल्लाबाट ५५ वटा तुइनको विवरण आएको थियो। हुम्लामा १५, कालीकोटमा १२, जाजरकोटमा १०, सुर्खेतमा ८, डोल्पामा ३, मुगु र दैलेखमा २–२ तथा सल्यानमा २ तुइन रहेको उल्लेख थियो। प्रारम्भिक तथ्यांकले प्रदेशभरि तुइनको समस्या अझै व्यापक रहेको देखाएको छ।
स्थलगत अध्ययन तथा प्रमाणीकरणका लागि जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई खटाइएको थियो। अध्ययनपछि ५५ मध्ये पाँच तुइन मात्र तत्काल विस्थापन आवश्यक रहेको पुष्टि भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो। उनका अनुसार हुम्लामा दुई, जाजरकोटमा दुई र सल्यानमा एक गरी पाँच स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ।
हुम्लाको रिप्घाट र चाल नदीमा दुई, जाजरकोटको स्याकुतडास्थित बाल्तारी र छोटार्नी–रटेरा क्षेत्रमा दुई झोलुङ्गे पुल बन्नेछन्। सल्यानमा भेरी नदीमाथि एक पुल निर्माण गरिनेछ।
‘तुइनमुक्त कर्णाली’ अभियानका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ।




