देश

उमागौरी सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशमा अन्जलाले बुझाइन् १ करोडको बैंक ग्यारेन्टी

। उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालाले उच्च अदालत विराटनगरले तोकेको १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएकी छन्। जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाड्ने आदेश दिएपछि सरकारी वकिलले पुनरावेदन गरेको थियो, जसलाई उल्टाउँदै उच्च अदालतले धरौटी रकम बढाएको हो।

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले भदौ ५ गते अन्जलासहित चार जनालाई जनही १ करोड धरौटी माग्ने आदेश जारी गरेको थियो। आदेश जारी भएको १९ दिनपछि, भदौ २३ मा, अन्जलाले प्रभु बैंकमार्फत जारी भएको बैंक ग्यारेन्टी जिल्ला अदालत मोरङमा पेश गरिन्।

तर, सोही आदेशमा धरौटी तोकिएका अन्य तीन प्रतिवादी– सन्तलाल खवास, ज्योति बास्कोटा र अहिले पुर्पक्ष थुनामा रहेका रोशन राजवंशीले भने अझै आफ्नो धरौटी बुझाएका छैनन्। जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनीहरूको तारेख मंसिर १७ का लागि तोकिएको छ।
बुढाथोकी भन्छन्, “तारेखमा उपस्थित हुँदा अदालतले तोकेको रकम अनिवार्य मागिन्छ, नबुझाए कारागार चलान गरिनेछ।”

यसअघि जिल्ला अदालतले पुस २४ गते अन्जलालाई १० लाख धरौटीमा रिहा गरेको थियो। तर सरकारी वकिल कार्यालयले सो आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेपछि दुई न्यायाधीश बीच मतभेद देखिएर मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको थियो। न्यायाधीश अर्यालको इजलासले नै धरौटी बढाउने अन्तिम आदेश दिएको हो।

उमागौरी सहकारी प्रकरणमा करिब ८ हजार ८ सयभन्दा बढी सदस्यको निक्षेप उपयोग गरी २४ करोड ऋण देखाइ २२ करोड ४८ लाख रुपैयाँ हिनामिना गरिएको आरोप छ। गत मंसिर २७ मा अन्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथानका पूर्व वडाध्यक्ष रोशन राजवंशी यसअघिदेखि नै पुर्पक्षका लागि थुनामा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *