काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेको एक फार्मेसीबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएपछि सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इटहरी, खनार र भोजपुरबाट खटिएको संयुक्त टोलीले ‘नसिब फार्मेसी’मा छापा मारेको हो।
सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेका अनुसार फार्मेसी सञ्चालक करिब ५० वर्षीय नसिब नारायण चौधरी ट्रामाडोलजस्ता नियमनबाहिरका औषधि बिक्री गर्दै आएको पक्रिनुअघि नै प्रहरीलाई गोप्य जानकारी पुगेको थियो। छापामारीपछि चौधरीको घर–कोठामा गरिएको खानतलासीमा हालसम्मकै ठूलो परिमाणको प्रतिबन्धित औषधि भेटिएको प्रहरीको दाबी छ।
यस क्रममा चौधरीकी २४ वर्षीया श्रीमती सम्झना चौधरी घरको छतबाट दुई बोरा फाल्दै गरेकी अवस्थामा नियन्त्रणमा लिइइन्। ती बोरामा ट्रामाडोलका १,९८० पत्ता (१९ हजार ८०० क्याप्सुल) फेला परेका छन्। साथै घरभित्रैबाट थप ४०० पत्तामा ४ हजार ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद औषधि अत्यधिक दुरुपयोग हुने श्रेणीको हो, र पछिल्लो समय नेपालको दक्षिणपूर्वी भेगमा भारत–नेपाल खुला सीमाको फाइदा उठाउँदै यसको अवैध कारोवार तीव्र रूपमा बढिरहेको छ। इटहरी, धरान र आसपासका क्षेत्रमा तस्करीमार्फत ल्याइिएका औषधि बिक्री हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेका दम्पतीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएका छन्। बरामद औषधिको स्रोत, तस्करीको सञ्जाल र सम्भावित संगठित समूहको संलग्नता विषयमा थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।



