देश

जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण

काठमाडौँ । जेन जेड आन्दोलनमा निधन भएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको मुखबाट पाँच दिनअघि नै आफू सहिद हुने वाणी आइसकेको थियो । डेरामा आमा माया जोशीसँग आन्दोलनको पाँच दिनअघि भएको संवादमा गौरवले जेन जेड आन्दोलन हुँदै छ भन्ने जानकारी गराएका थिए । आमासँगको संवादमा गौरवले देशका लागि आफू सहिद हुन परे पनि हुन्छु भनेर आन्दोलनमा हिँडेका थिए ।

गौरवको काठमाडौँ बानेश्वरमा भदौ २३ गते भएको प्रदर्शनका क्रममा चलेको गोली लागेर निधन भएको थियो । आमासँग भदौ २३ गते पनि भएको संवादको क्षण सम्झिँदै स्व. गौरवकी दिदी आइसाले भन्छिन्, “आन्दोलन शान्तिपूर्ण हुन्छ, देशका लागि आफू सहिद हुनुपरे पनि हुन्छु, आन्दोलनमा जान्छु है आमा भनेका थिए, आमाले भने नजाउ बाबु, घरमै बसेर किताब पढ भनेर सल्लाह दिनुभएको थियो ।”

तर जेन जेड आन्दोलन शान्तिपूर्ण हुन्छ भन्दै डेराबाट निस्किएका गौरवको आमासँगको त्यो दिनको संवाद नै अन्तिम बन्न पुग्यो ।

बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बसेका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो । गोली लाग्नुअघि गौरवले सामाजिक सञ्जाल बन्द र बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका मुद्दामा दिइरहेको प्रतिक्रिया ‘भिडियो’मार्फत सार्वजनिक भएको देखिएको थियो । घरका एक्लो छोरा गौरवको निधनको पीडाले जोशी परिवारका सदस्यलाई पोलिरहेको छ । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुबा, आमा र दिदीका आँसु रोकिएका छैनन् । पुत्र शोकका कारण बुबा ७६ वर्षीय वासुदेव घरमा भेट्न आउनेसमक्ष एकोहोरो टोलाइरहन्छन्। समवेदना दिन उनको घरमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन् ।

विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने गौरवको योजना थियो । तर विदेश पुगेर गर्ने कमाईले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवार सदस्य सहाराविहीन भएको छ । विदेश गएर कमाई गर्ने योजनासहित जोशीले विभिन्न देशका लागि राहदानीका लागि प्रयास गरिरहनुभएको थियो । प्रयास सफल हुन नसकेपछि बेलायत जानका लागि अर्को तयारी गरिरहेका थिए । विदेश जानका लागि ऋण निकालेर बैंकमा राखेको पैसा खर्च गर्न मानिरहेका थिएनन् ।

वासुदेवले भने, “छोरा गौरवसँगै भिसाका लागि प्रक्रिया अघि बढाएका भतिजा प्रविन जोशी बेलायत उडेकै दिन आफू भने पशुपतिमा गौरवको अन्त्येष्टिमा जानुपर्ने भयो, दैव पनि कस्तो निस्ठुरी बन्छ ?” उनले छोरालाई इन्जिनियर पढ्न चाहिने खर्चका लागि धनगढीको आफू बसेको घरलाई बैंकमा धितो राखेर ऋण लिएका थिए । तर गौरवले इन्जिनियर नपढी बेलायत गएर कमाई गर्ने इच्छा राखेर राहदानीका लागि पहल गरिरहेका थिए ।

घर नजिकैको एक बोर्डिङ स्कुलमा कक्षा ४ सम्म अध्ययन गराउँदा पढाई राम्रो नभएपछि उनले गौरवलाई ऐश्वर्य विद्या निकेतन धनगढीमा भर्ना गराएका थिए। यस विद्यालयमा १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इन्जिनियर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुगेका थिए । काठमाडौँ पुगेपछि बिहान स्वास्थ्यका लागि जिम क्लबमा जाने, प्रत्येक तेस्रो दिन पशुपति मन्दिरमा साँझपख बालिने आरती अवलोकनका लागि पुग्नुपर्ने उनको दिनचर्या बनेको थियो ।

जेन जेड आन्दोलनमा सहिद भएका परिवारका सदस्यले आगामी केही दिनभित्रै प्रधानमन्त्रीलाई भेटेर सहिद परिवारका लागि राहतका योजना ल्याइदिन माग गर्ने तयारीमा छन् ।

उनले भने, “आगामी मङ्सिर पहिलो हप्तामा काठमाडौँ पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने योजनामा छौँ, सरकारले सहिद परिवारको सहज जीवनयापनका लागि केही राहत वा रोजगारीका कार्यक्रम ल्याइदिनका लागि आग्रह गर्दै छौँ ।”

कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित हटैराज सहकारी संस्थाले गत बिहीबार सहिद गौरवका बुबा वासुदेव र दिदी आइसालाई बोलाएर सम्मानित गरेको थियो ।

“आफूहरूलाई बोलाएर सम्मानित गरिँदा जसको परिवारको सदस्य सहिद हुन्छ उसले सहिदको महत्व र गरिमा बुझ्ने रहेछ, सम्मानित हुन पाउँदा थोरै भए पनि पीडामा मह्लमपट्टी लागेको अनुभूति भयो”, वासुदेवले भने । यो संस्था सहिद दशरथ चन्दको जन्मथलो बैतडी जिल्ला पुर्ख्यौली भएर हाल कञ्चनपुरको महेन्द्रनगर बसोबास गरिरहेका चन्द समुदायका व्यक्तिले स्थापना गरेको संस्था हो । यस संस्थाको पहलमा जोशी परिवारलाई रु एक लाख ३० हजारको सहयोग पनि गरेको छ ।

गौरवलाई नेपाली विषय अध्यापन गराएका ऐश्वर्य विद्या निकेतन धनगढीका शिक्षक कमल जोशी कक्षामा गौरव अनुशासित र शान्त स्वभावका विद्यार्थी रहेको बताउँछन् । उनले भो, “उनी साथीभाइमाझ शान्त, सालिन, कम बोल्ने, अनुशासित विद्यार्थी थिए, जेनजी आन्दोलनमा धनगढीका गौरवको निधन भएको भन्ने खबर पाउँदा विद्यालय परिवार दुःखी भयो ।”

विद्यालयका विद्यार्थी र शिक्षकले विद्यालय परिसरमै मैनवत्ती बालेर स्वर्गीय गौरवको आत्माको चिरशान्तिका लागि कामना गरेका थिए ।

बैतडीको दोगडाकेदार पुर्ख्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा साढे चार दशकअघि धनगढीमा बसाइसराइ गरेका थिए । उनले वन कार्यालयको अस्थायी नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग चलाएर भएको आम्दानीले दुःख र संघर्ष गर्दै घरायसी खर्चको जोहो गरेका थिए । अहिले उनको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको केही कोठा भाडामा लगाएर हुने कमाई बाहेक अन्य आम्दानीको स्रोत छैन ।

गत भदौ २३ गतेको जेन जेड आन्दोलनका क्रममा उनले छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै पाएका थिए । जोशीले थपे, “धनगढीमै रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार/पाँच जना पुगेर खबर सुनाउँदा झसंग भएँ, त्यसपछि अन्योल र अनिश्चितता भयो । संसार नै अँध्यारो जस्तो भयो ।”

पहिलो श्रीमतीबाट छोरा नजन्मिएपछि छोराको आसमा उनले दोस्रो विवाह गरेका थिए । कान्छी श्रीमतीबाट छोरी आइसा र छोरा गौरव जन्मिएका थिए । उनकी छोरी आइसा जोशी ‘एयर होस्टेज’ अध्ययन सकाएर नोकरीको खोजीमा छिन् । ऊर्जा मन्त्री कुलमान घिसिङले छोरीलाई एयरहोस्टेजको नोकरी दिलाउन पहल गरिदिने आश्वासन दिएको जोशीले बताए । “जन्मेपछि मृत्यु त अनिवार्य हुन्छ नै तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्व बेग्लै हुने रहेछ, बैतडीमा जन्मिएका सहिद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ”, वासुदेवले भने ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्दा जेन जेडहरुले आन्दोलन गर्दैछन् भन्नेसम्म सूचना पाएका जोशीले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । घटनापछि परिवारका अन्य सदस्यसँगै उनी छोराको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुगेका थिए । उनले थपे, “काठमाडौँमा छोराको अन्त्येष्टिका दिन भएको शव यात्राले आफूलाई चिनायो, आफ्नै ठाउँ धनगढीमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो तर कसैले गरेनन् ।”

सरकारले जेन जेड आन्दोलनमा मृत्यु भएका गौरव जोशीसहितका व्यक्तिलाई सहिद घोषणा गर्दै जनही रु. १५ लाख राहत उपलब्ध गराइसकेको छ । स्व. गौरवको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा सालिक निर्माण गर्नका लागि जग्गा र आर्थिक सहयोगदाताको खोजीमा वासुदेव छन् । तर कतैबाट पनि सहयोग पाएका छैनन् । “सालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने आश्वासन दिनुभएको छ”, जोशीले भने ।

सहिद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा हालै श्रद्धाञ्जली सभा गरिएको थियो । भदौ २३ गतेको काठमाडौँ केन्द्रित जेन जेड आन्दोलनपछि दोस्रो दिन २४ गते भड्किएको प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसहित देशभर धनजनको ठूलो क्षति पुगेको थियो ।

जेन जेड आन्दोलनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्क मोड आसपासको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरेको छ ।

यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामकरण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *