देश

भएन मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री

दमौली (तनहुँ)। विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नदेखिएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन्। विशेषगरी दमौली बजार क्षेत्रमा दृष्टिविहीन तथा ह्वीलचियर प्रयोगकर्तालाई हिँडडुलमा समस्या परेको उनीहरूले बताए।

शनिबार तनहुँ नेत्रहीन संघ र पहुँचयुक्तता अभियानसँग जोडिएका व्यक्तिहरूले सडकको अवस्थाबारे परीक्षण गरेका थिए। नेत्रहीन संघका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन व्यक्तिहरू जोखिममा पर्ने बताए। रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले जेब्राक्रसिङ र टेक्सटाइलजस्ता ठाउँमा सुधार आवश्यक देखिएको बताए।

ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले धेरै स्थानमा जेब्राक्रस प्रयोग गर्नै नसकिने अवस्था रहेको बताए। “जेब्राक्रस त छ, तर सडक पहुँचयुक्त छैन,” उनले भने।

पहुँचयुक्तता अभियान तनहुँले दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म गरिएको अनुगमनमा फुटपाथ र जेब्राक्रस अपाङ्गतामैत्री नभएको निष्कर्ष निकालेपछि सरोकारवालालाई ज्ञापनपत्र बुझाइएको अभियानका संयोजक मदन पौडेलले जानकारी दिए।

अनुगमनमा फुटपाथ अति भिरालो भएको, मध्यभागमै बिजुलीका पोल राखिएका कारण ह्वीलचियर तथा सेतोछडी प्रयोगकर्ताले फुटपाथ प्रयोग गर्न नसक्ने अवस्था देखिएको उल्लेख छ। टेक्सटाइलमार्ग प्रयोग गर्दा पोलमा ठोक्किन सकिने जोखिम पनि रहेको पाइयो।

सफासडक चोक, बागबजार र बुल्दीखोला पुलनजिकका जेब्राक्रसहरूमा डिभाइडरका कारण सडक वारपार गर्न कठिनाइ भएको र फुटपाथतर्फ उक्लने र्‍याम्प नबनाइएका कारण समस्या देखिएको अभियानको निष्कर्ष छ। नालीमाथि राखिएका स्लाबबीच ठूलो ग्याप भएकाले दुर्घटनाको जोखिम बढेको अभियानले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिहरूका हकहितमा काम गर्दै आएको पहुँचयुक्तता अभियान तनहुँले सडकलाई अपाङ्गतामैत्री बनाउने गरी छिटो सुधार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *