कर्णाली प्रदेश

हुम्लामा हवाई टिकट वितरणको विवाद समाधान, बिरामीका लागि दुई टिकट अनिवार्य

अदानचुली (हुम्ला) । सिमकोट–नेपालगन्ज उडानका हवाई टिकट वितरणमा पारदर्शिता माग्दै स्थानीय युवाले तीन निजी एयरलाइन्सका कार्यालयमा लगाएएको ताला हटाइएको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकपछि शनिबार ताला खोलिएको हो।

युवाहरूले टिकट वितरण मिलेमतोमा हुने, पारदर्शिता नहुने र चिठ्ठा प्रणालीले झन् समस्या बढाएको भन्दै आपत्ति जनाउँदै आएका थिए। यस्तै विषयलाई लिएर शनिबार बिहान एयरलाइन्स कार्यालयमा ताला लगाइएको थियो।

बैठकले प्रत्येक उडानमा दुई टिकट अनिवार्यरूपमा बिरामीका लागि छुट्याउने निर्णय गरेको छ। त्यस्तै, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्नेछ। अन्य तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइनबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ।

सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयलाई वडा कार्यालयको सिफारिसमा एक–एक टिकट प्रदान हुने भएको छ। बाँकी टिकट एयरलाइन्सले प्राथमिकता र सहजताको आधारमा वितरण गर्नेछ। यससँगै, दुवै वडाले पहिलोपटक आरक्षण सिट पाउने व्यवस्था लागू भएको छ।

पन्ध्र सिट क्षमताको विमानमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएकोमा अब नयाँ तालिका सिता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागू हुने प्रजिअ रेग्मीले जानकारी दिए।

ताला लगाइएको जानकारी पाएलगत्तै प्रशासनले युवा, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि र एयरलाइन्सका अधिकारी सहभागी गराई बैठक बसेको थियो। निर्णय भएपछि सोही दिन ताला खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *