गण्डकी प्रदेश

मुस्ताङका थाक–पाँचगाउँ जोड्ने चक्रपथ सडक निर्माण अन्तिम चरणमा

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किलोमिटर चक्रपथ सडक निर्माण अन्तिम चरणमा पुगेको छ। विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको सडक ६ वर्षपछि प्रगतिको निर्णायक अवस्थामा पुगेको हो।

गण्डकी प्रदेशको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकाम जोमसोमदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोड्नेगरी पूर्वाधार विकास कार्यालयले परियोजना अघि बढाएको थियो। कालीगण्डकी नदीपारि पूर्वतर्फका ग्रामीण बस्तीमा सडक पहुँच विस्तार गर्ने उद्देश्यसहित पाँच किलोमिटर जोमसोम–ढुम्बा खण्ड कालोपत्र गरिएको छ भने ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फासम्म ५.५ किलोमिटर ग्राभेल सडक निर्माण सम्पन्न भएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए।

बन्दना भगवती निर्माण सेवाको ढिलासुस्तीका कारण सडक समयमै सम्पन्न हुन नसकेको हो। २०७७ माघभित्र सकिनुपर्ने काम महामारी, मौसम र हिमपातका कारण भन्दै सात पटक म्याद थपेर अघि बढाइएको थियो।

रोकामगरका अनुसार घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथ सडकको लागत २४ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको छ। परियोजना हाल ९३ प्रतिशत भौतिक र ८८ प्रतिशत वित्तीय प्रगतिमा पुगेको छ। चालु आवभित्र सडक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

हाल ६ किलोमिटर नाली निर्माण, ढुम्बातालसम्म कालोपत्र, र छैरो–चिमाङतर्फ चट्टान काटेर पाँच मिटर चौडा ग्राभेल सडक विस्तार पूरा भइसकेको छ। ट्राफिक सङ्केत पोल गाड्ने, नाली सफाइ र जोखिमयुक्त स्थानमा सुरक्षा बार निर्माणको काम जारी छ।

चक्रपथ सडक विस्तारसँगै ठिनी, ढुम्बा, छैरो, चिमाङलगायत बस्ती सडक सञ्जालसँग जोडिएको छ। यसले स्थानीय किसानका स्याउ, अन्नबाली, फलफूल र तरकारी ढुवानी गर्न सहज बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *