मनाङ।मनाङ सदरमुकाम चामेमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ। स्थापना भएदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालयले पहिलोपटक आफ्नै भवनमार्फत सेवा दिन थालेको हो।
नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनको उद्घाटन गर्दै सेवा प्रवाह झन् छरितो, सहज र पारदर्शी हुने विश्वास व्यक्त गरे। उहाँले मनाङको आर्थिक प्रशासन मजबुत बनाउन सरकार निरन्तर साथ रहने प्रतिबद्धता जाहिर गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनले कर्मचारीमा उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना बढाउने बताए। जिल्ला प्रशासन कार्यालयले सबै सरकारी सेवा आफ्नै भवनबाट प्रवाह हुने वातावरण बनाउन सहयोग जारी रहने पनि उनले उल्लेख गरे।
कोष नियन्त्रक सुवास अधिकारीका अनुसार नयाँ सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन तथा छरितो सेवा दिन सहज भएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले भवन सञ्चालनले सेवाको गुणस्तर र पहुँच दुवैमा सुधार आउने बताए।



