देश

मधेसमा आन्दोलन भड्काउन भारत सक्रिय: मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको आन्दोलन र राजनीतिक अस्थिरतामा भारतको प्रत्यक्ष हस्तक्षेप रहेको गम्भीर आरोप लगाएका छन्। शनिबार जनकपुरमा आयोजित कार्यक्रममार्फत मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर अफिसका प्रतिनिधिहरूले मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने गतिविधि गरिरहेको दाबी गरे।

मुख्यमन्त्री यादवले भारतीय पक्षले मधेसका राजनीतिक दलहरूलाई फुटाउने, जुटाउने तथा धम्की दिने कार्य भइरहेको खुलासा गरे। आफूलाई पनि सुरक्षा चुनौती रहेको उल्लेख गर्दै सुरक्षाकर्मीहरूले निरन्तर सतर्क रहन सुझाव दिएको जानकारी उनले सार्वजनिक गरे। उनले आन्दोलनकारीहरूले आफूलाई निशाना बनाइरहेको आरोप समेत लगाए।

यादवका अनुसार, “वीरगञ्जस्थित काउन्सिलर अफिसका प्रतिनिधिहरू दलसँग प्रत्यक्ष सम्पर्कमा रहेर ‘दल फोडिदिन्छु, दल जुटाइदिन्छु’ भन्दै थ्रेट गर्ने गतिविधि भइरहेका छन्। यसकै कारण सहमति हुने र भङ्ग हुने वातावरण बारम्बार सिर्जना भइरहेको छ,” उनले भने।

मुख्यमन्त्रीले आफू संवैधानिक प्रक्रियाबाट सरकारको नेतृत्वमा आएको उल्लेख गर्दै आन्दोलनरत दलहरूलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे। सुरक्षा अवस्थाबारे जानकारी दिँदै उनले भने, “मसँग आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा छ, तर पनि सुरक्षा थ्रेट छ। सभामुखज्यू, मन्त्रीहरू सबै सुरक्षित छन्, तर रिपोर्टिङअनुसार मलाई अझै बढी संवेदनशील भएर बस्न सुझाइएको छ।”

सुरक्षा निकायले दिएको सूचना अनुसार उनले कार्यक्रमहरू सीमित राख्नुपरेको बताए। “सुरक्षा चुनौती आन्दोलनकारीबाट नै आएको हुन्छ, अरू जनताबाट होइन,” उनले स्पष्ट पार्दै भने।

मुख्यमन्त्री यादवले आफू सुरक्षित नभएको अवस्थामा अन्य दलका माननीय र सर्वसाधारण पनि सुरक्षित हुन नसक्ने तर्क गरे। आफूमाथि आक्रमण भएमा पार्टीका कार्यकर्ता वा समर्थकमाथि पनि असर पर्न सक्ने चेतावनी उनले दिए। साथै, भारतीय पक्षको दबाबका कारण आन्दोलनकारीहरूसँग वार्ताको वातावरण नै बिग्रिएको आरोप पनि उनले लगाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *