देश

नेपालगञ्जका करोडौँ खर्चिएका नगरबस बसपार्कमै थन्किए

राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेका नगरबस वर्षौंदेखि प्रयोगविहीन बनेर बसपार्कमै थन्किएका छन् । करिब तीन करोड ५८ लाख रुपैयाँ लगानीमा ल्याइएका सातवटा नगरबस सञ्चालन नहुँदा स्थानीय स्तरमा चासो र असन्तोष बढेको छ।

आर्थिक वर्ष २०७५/७६ मा विशेष अनुदानबाट चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस खरिद गरिएका थिए। सुरुमा महिला सहचालक राखेर उपमहानगरपालिकाले स्वयं सेवा सञ्चालन गरे पनि खर्च धान्न नसकिएको कारण बस सञ्चालन निजी क्षेत्रलाई ठेक्कामा दिन टेन्डर आह्वान गरिएको थियो।

उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार सातवटा बसको वार्षिक न्यूनतम भाडा ५० लाख र बसपार्कको पार्किङ शुल्क ५१ लाख तोकिएको थियो। टेन्डर प्रक्रियामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपैयाँमा ठेक्का लिएको थियो। तर घाटा भएको भन्दै ठेकेदार कम्पनीले बस पुनः बसपार्कमै थन्काएर छोडिदिएको हो।

लक्षित वर्गका लागि आएको बजेटबाट खरिद गरिएका बस सञ्चालनविहीन बनेपछि स्थानीयले राज्यको धनराशिको दुरुपयोग भएको आरोप लगाएका छन्। नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका नाममा आएको बजेटले खरिद गरिएका बस सहरकै प्रतिष्ठामा धक्का लाग्ने गरी थन्किनु दुर्भाग्यपूर्ण भएको बताए।

“करोडौँ खर्चेर ल्याइएका बस यसरी धुलाम्मे भएर राख्नु सार्वजनिक सम्पत्तिको स्पष्ट दुरुपयोग हो,” श्रेष्ठले भने, “नागरिकलाई सेवा दिनका लागि किनेका बस तत्काल सञ्चालन गर्नु आवश्यक छ।”

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार थन्किएका बस पुनः सञ्चालन गर्न योजना तयारी भइरहेको छ। आगामी कार्यपालिकाको बैठकमा यो विषयमा छलफल गरी निर्णय हुने बताइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *