भोजपुर। नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान संख्या विस्तार गरेसँगै जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई राजधानी तथा अन्य बाह्य अस्पतालमा पहुँच सहज भएको छ।
निगमले यसअघि सातामा दुईवटा उडान गर्दै आएको थियो। प्राविधिक समस्या समाधान भएपछि अहिले मङ्गलबार, बुधबार, बिहीबार र शनिबार गरी सातामा चारवटा नियमित उडान सञ्चालन गर्न थालेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए।
उडान कम हुँदा आकस्मिक अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने बाध्यता रहेको थियो। यसले आर्थिक भार बढ्नुका साथै उपचारमा ढिलाइ हुने समस्या कायम थियो। उडान संख्या बढेपछि अब कम लागतमा काठमाडौँ तथा अन्य शहरका अस्पतालमा उपचारका लागि पुग्न सकिने स्थानीय पर्शुराम कार्कीले बताए।
निगमले यात्रुहरूले आफ्नो यात्रा सुनिश्चित गर्न आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न मिल्ने व्यवस्था गरेको पनि जनाएको छ।
भोजपुरमा हाल नेपाल वायुसेवा निगमका जहाजले मात्रै उडान भर्दै आएको छ। जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामी काठमाडौँ, विराटनगर, धरान लगायतका अस्पतालमा जानुपर्ने परिस्थिति रहने गरेको छ।



