काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिँदै गएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया कात्तिक २८ गतेदेखि पूर्ण रूपमा रोकिएको छ। केही दिनअघि मात्र आंशिक रूपमा सेवा सुचारु भएको डेटा सेन्टर फेरि बिग्रिएपछि विभागले लाइसेन्ससम्बन्धी सबै नयाँ आवेदन अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ।
२२ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको भौतिक संरचना तथा प्रणालीमा ठूलो क्षति पुगेको थियो। सोही क्रममा लाइसेन्स छपाइदेखि आवेदन प्रणालीसम्मका सेवा ठप्प भएका थिए। स्थिति सामान्य बनाउने प्रयासस्वरूप १६ कात्तिकबाट केही सेवा आंशिक रूपमा चलाइए पनि डेटा सेन्टरमा पुनः प्राविधिक समस्या देखिएपछि सेवा फेरी अवरुद्ध भएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार हाल समस्या समाधानका लागि प्राविधिक टोली जुटाइएको छ। प्रणाली पूर्ण रूपमा मर्मत नभएसम्म नयाँ लाइसेन्सका लागि आवेदन खुल्ने सम्भावना कम देखिएको छ। यातायात सेवाका अधिकांश काम अनलाइन प्रणालीमा निर्भर भएकोले सेवा अवरुद्ध हुँदा सर्वसाधारण पुनः प्रभावित भएका छन्। विभागले सेवा सुरु हुनेबारे चाँडै सूचना दिने जनाएको छ।





