देश

माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने सुदन गुरुङको अन्तरिम सरकारलाई चेतावनी

काठमाडौं । ‘जेन(जी) अभियान’ का अभियन्ता तथा ‘हामी नेपाल’ नामक एनजीओका संस्थापक सुदन गुरुङले आफ्नो टोलीसहित बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर आयोगको तयारीप्रति असन्तुष्टि जनाएका छन्।

गुरुङ नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा रवीन्द्र बानियाँ, अनिल बानियाँलगायतका अभियन्ताहरू सहभागी थिए। टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेटेर निर्वाचन तयारी, मतदाता नामावली संकलन र सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको छ। भेटका क्रममा गुरुङले आयोगले ढिलासुस्ती गरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरे। उनले हिमाली जिल्लाहरूमा नामावली संकलन कठिन भएकाले घुम्ती शिविर सञ्चालन गर्न मागसमेत गरे।

जवाफमा आयुक्त भण्डारीले गुरुङको सुझावप्रति ध्यानाकर्षण भएको जनाउँदै, “सम्भव भएसम्म माग पूरा गर्ने प्रयास हुनेछ,” भन्ने प्रतिवद्धता जनाएका थिए। गुरुङले पुनः स्पष्ट शब्दमा चेतावनी दिए — “जेन(जी) अभियानका मागहरू पूरा नभएसम्म चुनाव हुन दिने छैनौं।” उनले सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै रोष प्रकट गरे।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै भने, “अर्याल अहिले मन्त्रीभन्दा बढी एमाले नेताजस्तो बनेका छन्।” गुरुङ नेतृत्वको जेन(जी) आन्दोलन पछिल्लो समय तीव्र बन्दै आएको छ। उनीहरूले सरकारमाथि आन्दोलनको मुद्दा समाधान नगरेको र आयोगले पनि उदासीनता देखाएको आरोप लगाउँदै आएका छन्। आयोगसँगको यो भेटपछि राजनीतिक वृतमा प्रश्न उठेको छ — के जेन(जी)को दबाबबीच निर्वाचन समयमै सम्भव हुनेछ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *