काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) छाडेका सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले “हावादारी कुरा” गर्ने गरेको टिप्पणी गर्दै प्रचण्डले भने, “१२ वटा समूहहरू एक ठाउँमा आइसकेका छन्। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।”
उनका अनुसार हालसम्म १२ वटा राजनीतिक दलहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न राजनीतिक दल र समूहहरूले एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए।




