खेलकुद

एनपीएल स्टार टिभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

काठमाडौँ। यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भारतीय टिभी च्यानल स्टार स्पोर्ट्स र नेपाली टेलिभिजन दुवैबाट प्रसारण हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार भारतीय स्टार टेलिभिजनले एनपीएल प्रसारण गर्ने निर्णय हिजोमात्र अन्तिम रूप पाएको हो।

पहिले क्यानले नेपालभित्र ‘एक्सक्लुसिभ अधिकार’ हुने गरी नेपाली टेलिभिजनहरूबाट प्रसारण अधिकारका लागि टेन्डर आह्वान गरेको थियो। तर अब सो अधिकार एक्सक्लुसिभ नहुने निर्णय भएको छ। टेन्डर दाखिला गर्ने अन्तिम दिन आज भए पनि क्यानले एक दिनअघि नै एक्सक्लुसिभ अधिकार नहुने टुंगो गरेको हो।

क्यानले यस वर्ष मोबाइल एपमार्फत एनपीएलका सबै खेल हेर्न सक्ने गरी प्रसारण अधिकार बिक्री गर्ने तयारी गरेको छ। ती एपमार्फत दर्शकले शुल्क तिरेरमात्र खेल हेर्न पाउनेछन्।

गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरिएको थियो। तर, यस वर्ष भने युट्युबमार्फत खेल हेर्न नपाइने भएको छ। टीभीको पहुँचमा नपर्ने दर्शक र विदेशमा रहेका नेपाली दर्शकले मोबाइल एपबाट मात्र खेल हेर्नुपर्ने क्यान स्रोतले जनाएको छ।

क्यानका पदाधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर, क्यानले बोलपत्रदाताहरूलाई इमेलमार्फत सो निर्णयको जानकारी गराइसकेको छ।

क्यानका एक पदाधिकारीले भने, “यस सम्बन्धी प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक जानकारी दिइने छ। प्रक्रिया पूरा हुन अझै केही घण्टा लाग्छ, आज साँझ वा भोलिसम्म जानकारी दिइनेछ।”

एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर मंसिर २७ गतेसम्म चल्ने तालिका तय गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *