काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनका विषयमा उत्पन्न विवाद गहिरिँदै गए विभाजनसम्मको स्थिति आउन सक्ने चेतावनी दिएका छन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले छिटो निर्णय नगरे विभाजनको सम्भावना बढ्ने बताए।
कोइरालाका अनुसार विशेष महाधिवेशनको मागसहित ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको छ। उनले भने, “हस्ताक्षर प्रमाणीकरण सुरु गर्ने दिनदेखि नै काँग्रेस विभाजनको खतरा रहन्छ। यदि ४० प्रतिशत मात्र पुगेर महाधिवेशनमा गयौँ भने पनि बाँकी ६० प्रतिशत छुट्टिन सक्ने अवस्था हुन्छ।”
उनले पार्टी एकता जोगाउन र विवाद समाधान गर्न केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी अन्तिम निर्णय लिनुपर्नेमा जोड दिए। कोइरालाले भने, “५५ प्रतिशत हस्ताक्षर बाध्यात्मक हुन्छ, तर विभाजनतिर नजाओस् भनेर हामीले बैठककै निर्णय खोजेका हौँ। केन्द्रीय समितिले निर्णय गर्यो भने शतप्रतिशत साथीहरू महाधिवेशनकै पक्षमा हुनेछन्।”
पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि उनले बताए। उनका अनुसार, सबै पक्षबीच संवाद र सहमति कायम गर्न सके काँग्रेसलाई विभाजनको जोखिमबाट जोगाउन सकिनेछ।



