काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनस् चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताए । कार्यक्रममा सहभागी एमाले नेता अग्नि खरेलले पुर्वन्यायधीश र प्रधानन्यायाधीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताए पनि मन्त्री सिन्हाले यस्तो जवाफ दिएका हुन् ।
उनले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताए । उनले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरूलाई उम्मेदवार बन्न पाउने अधिकार पनि दिएको बताए । उनले आफूहरू अप्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको बताए । उनले आफूलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने इच्छा पनि नरहेको बताए ।
उनले भने ‘असंवैधानिक किन रे! भन्दाखेरि त्यो चाहिँ नि सरकारी पदमा बस्नको निम्ति न्यायाधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकार पद हो की होइन यसो हेरे, मैले संविधान पल्टाएर हेरे । नपढीकन चाहिँ गएको होइन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरू बेला त पढे, त्यो धारा चाहिँ त्यो बेला पढे । मैले देखे मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरूले वञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेदवार बन्ने मेरो अधिकार छ कि छैन ? मसँग अधिकार छ ।’
मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरे । सरकारले हरेक राजनीतिक दलका जिम्मेवार नेताहरूसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिए । राजनीतिक दलहरू निर्वाचनबाट पछाडि नफर्कने पनि उहाँले विश्वास व्यक्त गरे ।



