काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, वडा नं ५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद तथा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता भएको प्रमाण फेला परेको हो। सोही कारण विशेष अदालतमा उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँगै इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, अपरेटर हरिचन्द्र बिष्ट, प्रोजेक्ट इन्जिनियर शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि (दुनै, डोल्पा) र कम्पनीका भीमराज न्यौपाने प्रतिवादी बनाइएका छन्।
अनुसन्धान अनुसार, २०७८र७९ आर्थिक वर्षमा मोटरबाटो स्तरोन्नतिको नाममा औपचारिकता मात्र पूरा गरी मिलेमतोमा दिव्या निर्माण सेवालाई ठेक्का दिइ भुक्तानीमा अनियमितता गरिएको थियो। आयोगको ठहरअनुसार, प्रतिवादीहरूले गैरकानुनी लाभ लिन तथा संस्थालाई हानी पु(याउने उद्देश्यले कार्य गरेको देखिएकाले सोही मूल्य बराबरको विगो मागदाबी र कानुनी सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।




