काठमाडौं। मनाङमा तीन कात्तिकदेखि बेपत्ता भएका दुई भारतीय नागरिकको शव फेला परेको छ। सशस्त्र प्रहरी बलले आइतबार दिउँसो करिब २ बजे उनीहरूलाई मृत अवस्थामा भेटेको हो।
शव फेला परेकामध्ये ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन्। उनीहरू बाबु–छोरी हुन्।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका उनीहरू गत कात्तिक ३ गते गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाने भन्दै होटलबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
सम्पर्क टुटेपछि होटलले सशस्त्र प्रहरी बलको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई जानकारी गराएको थियो। तालिम शिक्षालयले प्रारम्भिक खोजी गरे पनि उनीहरू नभेटिएपछि पुनः कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको नेतृत्वमा उद्धार टोली खटाइएको थियो।
माउन्टेन रेस्क्यु तालिम प्राप्त उक्त टोलीले मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।



