देश

हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका फरार अभियुक्त ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् । सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार बम्जनलाई काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनी केही समयअघि जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए ।

बम्जन कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी प्रकरणको आरोपमा पक्राउ परेका थिए । उनी सहकारीका मुख्य अभियुक्त जीबी राईका जेठानसमेत हुन् ।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको बताइएको छ । सो प्रकरणमा अदालतले १० लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो ।

हाल प्रहरीले उनलाई पुनः हिरासतमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *