जनकपुरधाम । विश्वासको मत नपाउने देखेपछि सदनमा राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाएका छन् । आज साँझ प्रदेश प्रमुख कार्यालय पुगेर उनले प्रदेश प्रमुख सुवेदीलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
उनले आजै बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए । मुख्यमन्त्री सोनलले आजै विश्वासको मत पनि लिने कार्यसूची थियो । तर, मत नपाउने देखेपछि उनले राजीनामा दिएका हुन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।



