काठमाडौं । छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
अभियानद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा. लम्साललाई ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
रेडियोकर्मीसमेत रहेका धादिङका डा. लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गरेका छन् भने मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आएका छन् ।
यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसक्नुभएको भने छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत भइसेका छन्।
छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा डा रामप्रसाद ज्ञवाली र प्रा डा देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो ।




