काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। भोलि बिहान ११ः३० बजे बस्ने भनिएको बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठक अब कात्तिक २५ गते दिउँसो ११ः३० बजे सानेपामा बस्नेछ। पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति श्रद्धाञ्जलि स्वरूप कांग्रेसले भोलिको बैठक स्थगित गरेको हो।
असोज २८ गतेदेखि जारी कांग्रेस बैठकमा महाधिवेशनको मिति तय गर्ने विषयमा नेताहरूबीच चर्को विवाद चलिरहेको छ। संस्थापन पक्षले आगामी चुनावअघि महाधिवेशन सम्भव छैन भन्ने अडान लिएको छ भने इतर पक्षले नियमित समयमा नभए पनि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सारेका छन्।



