देश

नेपाल–भारत सीमानाकामा आवागमन बन्द

चन्द्रपुर (रौतहट)। भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ः०० बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६ः०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *