काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएको विषयमा असन्तुष्टि जनाएका छन्।
इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा आईजीपी खापुङले भने, “भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरी दोषी देखिन्छन् भने, भोलिपल्ट गोली नचलाउँदा पनि उनीहरूमाथि प्रश्न उठाइन्छ। ड्युटीमा खटिएका प्रहरीहरूलाई नै दोषी देखाउने प्रयास भइरहेको छ।” उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले गोली चलाउने आदेश नदिएको र कानुनमा समेत त्यसको व्यवस्था नरहेको स्पष्ट पारे।
आईजीपी खापुङका अनुसार संसद भवन फोडेर आगजनी हुँदा प्रहरी बाध्य भएर मात्र गोली चलाउन पुगेका थिए। “केही नगरे पनि छानबिन हुन्छ, केही गर्दा पनि छानबिन हुन्छ भने नीतिगत स्पष्टता आवश्यक छ। भदौ २३ मा न्यून बल प्रयोगको निर्देशन सरकारले दिएको थियो र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको थियो,” उनले भने।
खापुङले आन्दोलनकारीले निहत्था प्रहरीमाथि आक्रमण गर्दा पनि प्रहरीमाथि प्रश्न उठाउने प्रवृत्ति समाजका लागि खतरनाक भएको बताएका छन्। “यदि विध्वंसको बेलामा प्रहरी बल प्रयोग गर्न नपाउने हो भने संगठन नै किन चाहिन्छ? उल्टै प्रहरीलाई बयानका लागि बोलाउने परिस्थिति हुनु अस्वीकृत छ,” उनले जोड दिए।
आईजीपी खापुङले राजनीतिक आन्दोलन र लुटपाट, आगजनी छुट्याएर हेर्नुपर्ने बताएका छन्। उनले भने, “राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत सम्पत्तिमा प्रहार हुनु आतंकवादको अभ्यास हो। घर सुरक्षित छैन भने देशभर आतंकवादको जोखिम बढ्छ। यो क्रम दोहोर्याइरह्यो भने देश ठूलो दुर्घटनातर्फ जान सक्छ।”
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन छानबिन समितिले हालै प्रहरीलाई बयानका लागि बोलाएको थियो। खापुङले भने, “मेरो प्रहरी भोकभोकै, पानी नखाई ड्युटीमा खटिएका छन्। यस अवस्थामा कसले उनीहरूको आवाज बोल्ने?”




