देश

भारी हिमपातका कारण मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ। लगातारको भारी हिमपातका कारण मुस्ताङ–डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय मुस्ताङका अनुसार मुस्ताङको पाक्लिङ हुँदै साङ्ता गाउँमार्गे डोल्पातर्फ जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ । उपल्लो डोल्पाका बासिन्दालाई जोमसोमबाट मालसामान ढुवानी गर्न तथा पोखरा–काठमाडौँ आवतजावतका लागि छोटो मार्गको रूपमा प्रयोग गर्न सकिने गरी यो सडक विस्तार गरिएको हो ।

सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ–डोल्पा सडकलाई स्तरोन्नति गर्दै नयाँ ट्र्याक पनि खोलेको थियो । तर, समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा पर्ने उक्त सडक क्षेत्रमा परेको बाक्लो हिमपातका कारण आवागमन ठप्प भएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार जोमसोमदेखि छुकसम्वसम्म हाल मालवाहक सवारीसाधन र यात्रु गाडी जान सक्ने स्थिति छैन । उहाँले भने, “हिउँका कारण सडक पूरै बन्द भएको छ, हिउँ पन्छाएर सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय बाग्लुङसँग माग गरिएको छ ।”

यसैबीच, एक साताअघि परेको हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती साङ्ता गाउँमा विद्युत्, इन्टरनेट र मोबाइल सेवा पनि अवरुद्ध भएको छ । साङ्ताका वडा सदस्य छिरिङ पाल्साङ गुरुङका अनुसार एक वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गाउँपालिकाको समन्वयमा १३ घरधुरीमा सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।

कृषि र पशुपालनमा निर्भर त्यहाँका बासिन्दा प्रायः बर्खाको आठ महिना गाउँमै बस्ने र हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका न्यानो स्थानमा बसाइँ सर्ने गर्छन् ।

सडक र सञ्चार सेवा ठप्प हुँदा स्थानीयवासीलाई आवतजावत र अत्यावश्यक सेवामा ठूलो कठिनाइ परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *