देश

नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

काठमाडौं । विभिन्न वाम दल र समूहहरू मिलेर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा वाम दल र समूहहरूबीच एकता घोषणा भएको भोलिपल्ट बिहीबार आयोगमा दर्ता निवेदन दर्ता गरिएको हो।

नवगठित पार्टीले आगामी निर्वाचनका लागि पाँचकुने तारा चुनाव चिह्नका रूपमा प्रस्ताव गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त गरेको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

दल दर्ता निवेदनसँगै एकताको प्रतिबद्धतापत्र र घोषणापत्र पनि आयोगमा पेश गरिएको नेता शिव खकुरेलले जानकारी दिए। उनका अनुसार दलको विधानलाई पूर्णता दिने काम जारी छ।

‘पदाधिकारी चयन लगायतका विषय टुंगिएपछि विधानसहित आवश्यक दस्तावेज आयोगमा पेश गरिनेछ,’ खकुरेलले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *