काठमाडौँ ।नेपाली कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे चलिरहेको विवादका बीच दुवै पक्षले आ–आफ्नो भेला बोलाएका छन्। नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेका छन्।
भेलामा संस्थापन र डा. शेखर कोइराला नेतृत्वको अन्य समूहका नेताहरू सहभागी छन्। यसैबीच, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। विशेष महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर गत असोज २९ गते पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।
पार्टी केन्द्रीय समिति बैठकमा दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए, तर अहिलेसम्म कांग्रेसले कुनै निर्णय गरेको छैन।
हाल पार्टीमा नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा बहस जारी छ, र दुवै पक्षले आफ्नै पक्षमा माहोल निर्माण गर्न भेला बोलाउँदै आएका छन्।




