राजनीति

महामन्त्री थापाको आग्रह : पुनर्गठित कांग्रेससहित जनतामाझ जाऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न निर्वाचनअघि विशेष महाधिवेशन गरी पुनर्गठित कांग्रेससहित जनतामाझ जानुपर्ने बताएका छन् । उनले यसबाट जेन–जी पुस्ताको भावना सम्बोधन हुने र कांग्रेसले जनताको विश्वास पुनः जित्ने विश्वास व्यक्त गरेका छन् ।

एक भिडियो सन्देशमार्फत उनले भनेका छन्, “विशेष महाधिवेशन गरेर गयौं भने जनता बुझ्नेछन्— कांग्रेसले गल्ती स्वीकार गर्‍यो, सुधारको संकल्प गर्‍यो र नयाँ सुरुवात गर्न तयार छ ।”

उनका अनुसार यसपछि मात्र नागरिकसँग संवादको नयाँ ढोका खुल्नेछ र रिसाएका नागरिकहरूले कांग्रेसलाई फेरि एकपटक मौका दिनेछन् ।

कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ । शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्री थापा समूहले विशेष महाधिवेशनको माग गर्दै आएको छ । सोही मागसहित संकलन गरिएका हस्ताक्षर असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । थापाले फागुन २१ को निर्वाचनअघि पुस १६ देखि १९ गतेसम्म विशेष महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।

त्यसको जवाफमा संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । तर, पार्टीले दुवै प्रस्तावमाथि निर्णय गरेको छैन ।

थापाले भदौ २३ पछि देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएकाले नयाँ सन्दर्भमा नयाँ कांग्रेस लिएर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याएका छन् । उनले कांग्रेसलाई सत्ता र शक्ति केन्द्रित पार्टीको छवि तोड्न सुधार र नागरिक संवादमा जोड दिनुपर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *