नुवाकोट । बेलकोटगढी नगरपालिका–७ मा स्थापित ‘सामुदायिक अस्पताल’ सञ्चालनार्थ आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सप्ताह उद्घाटन समारोहमा नगरप्रमुख जगतबहादुर गुरुङले जनताको असल जनप्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गर्दै महत्वपूर्ण प्रतिबद्धता जनाएका छन्।
नगरप्रमुख गुरुङले नगरप्रमुखको रूपमा आफूले पाउने एक वर्षको सम्पूर्ण सुविधा रकम अस्पतालका लागि प्रदान गर्ने घोषणा गरे। साथै, कार्यपालिका बैठकमार्फत सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको सुविधा अस्पताल सहयोगका लागि उपलब्ध गराउने प्रस्ताव अघि सार्ने प्रतिबद्धता जनाए।

गुरुङले समुदायसँगको सहकार्यमा अस्पताल भवन निर्माणका लागि लाग्ने कुल खर्चको तीन भागमध्ये एक भाग रकम पालिकाबाट उपलब्ध गराइने जानकारी पनि दिए।
त्यसैगरी, महायज्ञ सप्ताह सञ्चालनका लागि नगरपालिकामार्फत तीन लाख रुपैयाँ सहयोग गर्ने र आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराउने घोषणासमेत गरे।
महादेवफाँटमा आयोजित उक्त समारोहमा स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणको सहभागितामा अस्पताल निर्माणार्थ सप्ताहज्ञान महायज्ञको उद्घाटन गरिएको थियो।



