देश

जेनजी आन्दोलनमा लुटिएका हतियार पठाओ राइडरसँग, चालक पक्राउ

काठमाडौं । राजधानीमा पुनः एक पटक जेनजी आन्दोलनको प्रभावले सुरक्षा निकायको क्षमतामाथि प्रश्न उठाएको छ। तारकेश्वर नगरपालिका–११ स्थित एक कोठाबाट स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएपछि प्रहरी सतर्क बनेको छ। पक्राउ परेका व्यक्ति कैलाली टिकापुर–१ का शिवराज धमला हुन्, जो पठाओ राइडरका रूपमा काम गर्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले धमलाको कोठामा छापा मार्दा सुरक्षाकर्मी प्रयोग गर्ने इन्सास हतियारदेखि सर्टगन र पेस्तोलसम्म भेटिएको प्रवक्ता एसपी काजीकुमार आचार्यले पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानमा ती हतियारहरू भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका मध्येका भएको पाइएको छ।

अभिलेखअनुसार, उक्त आन्दोलनका बेला प्रहरीबाट १,२७१ हतियार लुटिएका थिए, जसमा अझै ५ सयभन्दा बढी बेपत्ता छन्। धमलाको गिरफ्तारीले ती हराएका हतियारहरू क्रमशः अपराधीकर्मीहरूको हातमा पुगेको वा बेचबिखनको शृङ्खला सुरु भएको आशंका बढाएको छ। एक अनुसन्धान अधिकृतका शब्दमा, “एक पठाओ राइडरकहाँ हतियार पुग्नु सामान्य कुरा होइन, यो केवल हतियारको होइन, अपराध नेटवर्कको पुनर्संरचना हुनसक्छ।”

जेनजी आन्दोलनपछिका महिनामा प्रहरीको निगरानी प्रणाली कमजोर बनेको, हतियार ट्र्याकिङ र नियन्त्रण संयन्त्र अभाव रहेको आरोप पनि बढ्दै गएको छ। सुरक्षा स्रोतका अनुसार, कतिपय हतियारहरू कालो बजारमा बिक्री भएको, केही ग्रामिण क्षेत्रमा ‘आन्दोलन तयारी’का नाममा लुकाइएको शंका छ। एसपी आचार्यका अनुसार, धमलासँग बरामद हतियार कहाँबाट आएको र कसले उपलब्ध गरायो भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनलाई कडा निगरानीमा राख्दै, लुटिएका अन्य हतियार खोजी अभियान पनि तीव्र बनाएको जनाएको छ। राजधानीजस्तो क्षेत्रमा सार्वजनिक यातायात सेवामा संलग्न एक राइडरकहाँ सरकारी हतियार भेटिनु गम्भीर सुरक्षा चुनौती हो। यो घटनाले प्रहरीमाथिको जनविश्वास, नियन्त्रण प्रणाली र खुफिया संयन्त्रको प्रभावकारिता सबैमाथि प्रश्न उठाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *