सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै मुक्का प्रहार गरेका छन्।
विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा, विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेको क्रममा अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि अचानक आक्रमण गरेको बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले जानकारी दिएका छन्।
कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ। घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो।
यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति व्यक्त गर्दै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।





