काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले आज (बुधवार) सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले लामिछानेलाई गत २४ भदौको कारागारबाट बाहिर निस्कने घटनासम्बन्धी विवरण बुझ्ने उद्देश्यले बोलाएको हो । आयोगका अनुसार बिहानै आयोगको निर्णयपछि कारागार प्रशासनको अनुमतिपत्रका आधारमा उनलाई आयोगमा उपस्थित गराइएको हो ।
सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा जेलमा रहेका लामिछाने २४ भदौमा ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिर निस्किएका थिए । उक्त घटनापछि कारागार प्रशासनको आन्तरिक संयन्त्र र अनुमतिको औपचारिकता माथि प्रश्न उठेको थियो ।
यद्यपि लामिछाने केही घण्टापछि पुनः कारागार फर्किएका थिए । सो घटनापछि जाँचबुझ आयोगले नख्खु कारागारको स्थल निरीक्षण गरी प्रारम्भिक तथ्य संकलन गरेको थियो ।
आयोगले यसअघि कारागार प्रमुख सत्यराज जोशीसहित अन्य सम्बन्धित कर्मचारीहरूको बयान लिएर थप अनुसन्धान अघि बढाएको छ । आयोगले लामिछानेसँग आजको सोधपुछपछि घटनाको विस्तृत प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ ।



