काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र तीव्र मतभेद देखिएको छ। नेकपा माओवादी केन्द्रसहित नौ कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको प्रभावशाली समूहले पार्टी छोडेर नेकपा एमालेमा फर्कने निर्णय गरेको छ।
नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान बसेरा होटलमा पत्रकार सम्मेलन गर्दै एमालेमा फर्किने औपचारिक घोषणा गरेको हो। पूर्वमन्त्री किसान श्रेष्ठले पनि बिना सर्त एमालेमा फर्किने इच्छा व्यक्त गर्दै भने, “हामीलाई कुनै पदको लोभ छैन, हँसिलो अनुहारले बोलिदिए पुग्छ। त्यस वातावरणका लागि एमालेसँग निरन्तर छलफलमा छौं।”
एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाएका थिए। उनीहरूले एमालेसँगको एकता नै स्वाभाविक विकल्प हुने तर्क राखेका थिए।
यसअघि पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिका कारण प्रक्रिया पूर्णता पाउन सकेको थिएन। नौ कम्युनिस्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वाम राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित देखिन्छ।



