देश

जाँचबुझ आयोगले रवि लामिछानेलाई नख्खु कारागार बाहिर निस्किएको घटनामा सोधपुछका लागि बोलायो

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ। जेनजी आन्दोलनका क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे आयोगले स्पष्टीकरण मागेको हो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित कार्यालयमा उपस्थित हुन भनेको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागारमा रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। उनी बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको वैधानिकता र उद्देश्यबारे प्रश्न उठेको थियो। पछि लामिछाने पुनः कारागार फर्किएका थिए।

आयोगको टोलीले सोमबार घटनाको तथ्य अवस्थाबारे जानकारी लिन नख्खु कारागारको स्थलगत अध्ययन गरेको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीको बयानसमेत लिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *