काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित नौ कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्न लागेकै दिन नेकपा एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको छ। नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने तयारी गरेको छ।
पूर्वमन्त्री किसान श्रेष्ठका अनुसार झाँक्री समूहले आज बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै एमालेमा पुनः प्रवेशको औपचारिक घोषणा गर्नेछ।
एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाएका थिए। उनीहरूले एमालेसँगको एकता नै स्वाभाविक विकल्प हुने तर्क गर्दै आएका थिए। आजको पत्रकार सम्मेलनले सो असन्तुष्टिलाई औपचारिक रूप दिनेछ।
यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी विभिन्न चरणमा पुगे पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिका कारण प्रक्रिया पूर्णता पाउन सकेको थिएन। आजै नौ कम्युनिस्ट दल एक भई नयाँ पार्टी घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा देखिएको यो विभाजनले नेपालको वाम राजनीतिमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ।



