देश

धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।

धर्मशालाका १३ कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए। गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो ।

सेवाग्राहीलाई ध्यान दिएर करदाता सेवा र राजस्वसम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको कार्यालय उनले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षको असार मसान्तसम्मका लागि मासिक रु ७५ हजार भाडा तिर्नेगरी मन्दिरसँग सम्झौता गरी धर्मशालामा कार्यालय स्थापना गरी सोमबारबाट सेवा सुरु गरिएको हो ।

सो कार्यालयका दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पालगायतका जिल्लाका गरी ३५ हजार बढी करदाता रहेका छन् । आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन, अफिसर निवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, दुई गाडी, कार्यालयभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएकाले कार्यालय धर्मशालाबाट सञ्चालन गरिएको छ ।

यसअघि गत असोज ७ गतेदेखि सो कार्यालयले तुलसीपुर उद्योग वाणिज्य संघले नि:शुल्क रूपमा उपलब्ध गराएको संघको कार्यकक्षबाट आंशिक रूपमा सेवा सञ्चालन गरिए तापनि अहिले भने धर्मशालाका कोठा भाडामा लिएर कार्यालयबाट हुने सबै सेवा प्रवाह गरेको हो ।

जिल्लामा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा क्षति भएका भवनका केही कोठालाई मर्मत गरी ती कोठामा बसेर सेवा प्रवाह गरिरहेका छन् । केही कार्यालयले कार्यालय परिसरमा साना टहरा तथा पाल टाँगेरसमेत सेवा प्रवाह गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *