देश

वर्षातले धानबालीमा क्षति, बेलकोटगढी नगरपालिकाद्वारा विवरण संकलन सुरु

बेलकोटगढी। हालैको असामान्य मौसमी प्रभाव र लगातारको वर्षातका कारण कृषकहरूद्वारा खेती गरिएको धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन कार्य बेलकोटगढी नगरपालिकाले सुरु गरेको छ ।

नगर प्रमुख जगतबहादुर गुरुङ, उप–प्रमुख शिवप्रसाद दाहाल, सम्बन्धित वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, कृषि शाखाका प्राविधिक तथा सुरक्षाकर्मीको सहयोगमा क्षति मूल्यांकन र विवरण संकलन कार्य सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

उक्त विवरणमा प्रत्येक कृषकको नाम, ठेगाना, खेती गरिएको क्षेत्रफल, क्षतिग्रस्त क्षेत्रफल, क्षतिको प्रतिशत लगायतका विवरण समावेश गरिने नगरपालिकाले जनाएको छ । संकलित विवरण निर्धारित ढाँचामा तयार गरी तोकिएको मितिभित्र कृषि शाखामा पेस गर्न सबै वडाहरूसँग अनुरोध गरिएको छ ।

नगरपालिकाले यस कार्यमा सम्पूर्ण जनप्रतिनिधि, वडा सचिव, कृषि प्राविधिक र स्थानीय सरोकारवालाको सक्रिय सहयोग अपेक्षा गरेको छ । नगर प्रमुख गुरुङले किसानको वास्तविक क्षति मूल्यांकनका आधारमा राहत र सहयोगका कार्यक्रम अघि बढाइने जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *