काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोग नख्खु कारागार पुगेको छ। आयोगको टोलीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग विस्तृत सोधपुछ गरेको हो।
आयोगले नख्खु कारागारको निरीक्षण गर्दै कैदीबन्दीहरूसँग पनि प्रत्यक्ष कुराकानी गरेको छ। आयोगसँगको सोधपुछका क्रममा लामिछानेले आफू थुनामुक्त हुनुपर्दाको परिस्थितिबारे स्पष्ट पार्दै जेल प्रशासनको निर्णय अनुसार मात्रै आफू बाहिरिएको दाबी गरेको स्रोतले जनाएको छ।
भदौ २४ गते नख्खु कारागारमा आन्दोलनकारी भीड पुगेपछि लामिछाने कारागारबाहिर निस्किएका थिए। सो घटनापछि अरू कैदीहरू पनि बाहिरिएको आरोप उठेपछि आयोगले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई केही महिनाअघि भैरहवा कारागारबाट नख्खु स्थानान्तरण गरिएको थियो। जेल प्रशासनका जेलर सत्यराज जोशीको पत्रका आधारमा आफू कानूनी रूपमा थुनामुक्त भएको लामिछानेको अडान रहेको बताइएको छ।
आयोगले यसअघि जेलर जोशीसँग सोधपुछ गरिसकेको थियो। त्यसपछि कारागारमा पुगेर लामिछानेलगायत कैदीबन्दीहरूसँग प्रत्यक्ष कुराकानी गरिएको आयोगसम्बद्ध स्रोतले जनाएको छ।
यसैबीच, आयोगले आइतबार प्रहरी मुख्यालयलाई पत्र पठाउँदै भदौ २३ र २४ का घटनामा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।




